प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
जेष्ठ २०८०
पेस्तोल सहित १ जना पक्राउ
२०८०-०२-३२

काठमाण्डौ, ३२ जेठ            काठमाण्डौ, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियाँलाई १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाण्डौ महानगरपालिका-८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक सडकमा बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बानियाले बोकेको झोला सडकमा फाली फरार भएपश्चात प्रहरीले झोला तलासी गर्दा उक्त हतियार फेला पारेको थियो । साथै प्रहरीले बानियाँलाई खोजी गर्ने क्रममा भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

CCTV Network Communication and VMS Technology तालिम सम्पन्न
२०८०-०२-३२

काठमाण्डौ, ३२ जेठ            “CCTV Network Communication and VMS Technology Training For Nepal Police” को एक समारोह बिच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यको प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्नुहुदै  प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले तालिममा सिकेका ज्ञान सिप कार्यक्षेत्रमा लागु गर्न निर्देशन दिनुभयो ।      सहभागीहरूको तर्फबाट प्रहरी उपरीक्षक कृष्ण बहादुर धितालले प्रशिक्षणको दौरानमा हाशिल गरेको ज्ञान सिप कार्यक्षेत्रमा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।          तालिम समापन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकद्वय हिमाल कुमार श्रेष्ठ र दिनेश राज मैनाली, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरिक्षकहरु, Clock b Business Innovations का निर्देशक डिल्लिराज जोशी, तालिम संयोजक युवराज आचार्य लगायतको उपस्थित रहेको थियो ।        प्रहरी संचारतर्फ कार्यरत प्रहरी कर्मचारीहरुलाई Clock b Business Innovations द्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा मिति २०८०/०२/०७ गते देखी CCTV Network Communication and VMS Technology Training For Nepal Police संचालन भएको यस तालिममा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, मानब बेचबिखन नियन्त्रण ब्युरो, काठमाडौ उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौ, भक्तपुर र ललितपुर समेतबाट प्र.उ.-१, प्र.ना.उ.-३, प्र.नि.-२, प्र.ब.ना.नि.-२, प्र.ना.नि.-१२, प्र.स.नि.-२ समेत गरी २५ जनाको सहभागिता रहेको थियो  ।

वन एक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ
२०८०-०२-३१

काठमाण्डौ, ३१ जेठ            बेटीङ एप्लिकेसन वन एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रोप्टो करेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाण्डौ चावहिल बस्ने २९ वर्षीय दिनेश खडका, काभ्रेपलाञ्चोक घर भई काठमाण्डौ चावहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुर मध्यपुर ठिमी नगरपालिका-४ घर भएका २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाण्डौ पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई  काठमाण्डौ नागार्जुन नगरपालिका-२ बस्ने २४ वर्षीय आशिष लामिछाने रहेका छन् । विशेष सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उपत्यकाको मैजुवहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, वुद्दनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ४ थान ल्यापटप ४ थान, डायरी ६ थान, सिम कार्ड ३४ थान, मोबाइल ७ थान, नागरिकताको प्रतिलिपि ६ थान, विभिन्न बैंकका एटिम ५ थान, विभिन्न बैंकका चेकबुक १४ थान र राउटर ५ थान प्रहरीले बरामद गरेको छ । उनीहरूबाट हालसम्म ७४ करोड १३ लाख ५० हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ ।             उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ ।    

सवारी दुर्घटनामा मृत्यु
२०८०-०२-३१

काठमाण्डौ, ३१ जेठ             काठमाण्डौ महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.५ ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्‍ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८०-०२-३०

काठमाण्डौं, ३० जेठ             काठमाण्डौं महानगरपालिका-११ भोटेवहाल शान्तिमार्ग बस्ने शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ,  १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

माल्टा पठाइदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२८

काठमाण्डौ २८ जेठ      वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मुगु छाँयानाथ रारा नगरपालिका-३ ईमा घर भई हाल काठमाण्डौ महानगरपालिका-१४ कलंकी बस्ने ३४ वर्षीय प्रविन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।        खड्काले २ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ९ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ महानगरपालिका-१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।            उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्न व्यक्ति पक्राउ
२०८०-०२-२८

ललितपुर, २८ जेठ        वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर चौदण्डीगढी नगरपालिका-७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।         श्रेष्ठले एक जनालाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइ मोबाइल सफ्टवेयर कम्पनीमा ३ लाख ५० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख २१ हजार रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो ।            उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

सुन जस्तो देखिने पहेलो धातुसहित एक जना पक्राउ
२०८०-०२-२८

काठमाण्डौ, २८ जेठ     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ९९ ग्रामसहित काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-८ स्थायी वतन भएका ३३ वर्षीय तिर्थ प्रसाद गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         नेपाल एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका गौतमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्दा अवैध रुपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको उक्त परिमाणको धातुसहित फेला पारी उनलाई पक्राउ हो ।         उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-२८

काठमाण्डौ, २८ जेठ       काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ स्थितबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनुर्फिन ७ एम्पुल र फेनारगन ७ एम्पुलसहित मोरङ पथरी शनिश्चरे नगरपालिका-७ बस्ने २६ वर्षीय नितेश राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।      काँकडभिट्टा देखि काठमाण्डौ आउँदै गरेको प्र २-०३-००१ख १०११ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुँगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।       यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न धनमाल चोरी
२०८०-०२-२४

भक्तपुर, २४ जेठ             मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार कुटु टोल डेरा गरी बस्ने झापा दमक नगरपालिका-३ घर भएकी बबिता भट्टराईको डेरा कोठाबाट नगद १६ हजार र सुनको बिभिन्न गहना गरी करिब ७ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल मङ्गलबार साँझ चोरी भएको छ ।             यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-५ छालिङ भिमसेन टोल बस्ने निर्मला वनको घरबाट ढोकाको ताला फुटाई नगद ३१ हजार र सुनको बिभिन्न गहना गरी करिब १० लाख ९६ हजार ६ सय २५ रुपैयाँ बराबरको धनमाल मङ्गलबार दिउँसो चोरी भएको छ ।             प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०२-२४

काठमाण्डौ, २४ जेठ             काठमाण्डौ महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूवीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो ।             यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाण्डौ, २४ जेठ             अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दोलखा कालिन्चोक गाउँपालिका-७ घर भई काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।             पीडितसँग चिनजान गरी ई-सेवा तथा खल्ती वालेटहरुबाट हुने कारोबार तथा रकम ट्रान्सफर जस्ता कार्यहरु सिकाई दिने भन्दै फरक ब्यक्तिको फोटो राखी ई-सेवा तथा खल्ती वालेटहरु खोली विभिन्न बहाना बनाई झुक्याई पीडितको बैंक खाता तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याई खाताबाट अन्यत्र बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफर गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाण्डौ, २४ जेठ             दुबई पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-१० घर भई काठमाण्डौ, बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।             कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राइडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिने भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटक-पटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाण्डौ पठाइएको छ ।

कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२४

काठमाण्डौ, २४ जेठ             कम्बोडिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भई काठमाण्डौ महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।              तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटक-पटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाण्डौ पठाइएको छ । 

राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ
२०८०-०२-२२

ललितपुर, २२ जेठ   ललितपुर महानगरपालिका-२६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत-११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् ।  प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ
२०८०-०२-२२

काठमाण्डौ, २२ जेठ    ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काभ्रेपलाञ्चोक घर भई ललितपुर, ललितपुर महानगरपालिका-९ च्यासल बसने ३४ वर्षीय वसन्त हमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात २०६३ फागुन २४ गते फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलबाट पक्राउ गरेको हो ।     उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ । 

अवैध लागूऔषधसहित २ जना पक्राउ
२०८०-०२-२२

काठमाण्डौ, २२ जेठ         काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध  चरेश जस्तो देखिने पदार्थ ७ सय ८०  ग्राम र गाँजा ७० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट बेलकोट गाउँपालिका-९ बस्ने ३८ वर्षीय उत्सब सापकोटा र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २० वर्षीय मोहित सोडारी रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.०३-०१-०२३ च ०७३० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०२-२१

काठमाण्डौ, २१ जेठ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले ‘नेपाल भ्रमणमा आउने पर्यटकहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा सकारात्मक जानकारी गराई पर्यटन प्रवर्दनमा थप योगदान पुर्‍याउने हुनाले नम्र वोली, वचन र व्यवहारद्वारा उनीहरुलाई सुरक्षित गन्तव्यमा पुग्ने तथा फर्कने वातावरण बनाई आइपर्ने समस्या समाधान गर्न हरदम प्रयत्नशील रहन’ नेपाल प्रहरी संगठनको दुत ‘पर्यटक प्रहरी’लाई निर्देशन समेत दिनुभयो   ।   साथै आपराधिक गतिविधिमा समेत पर्यटकहरूको संलग्नता रहेको स्मरण गराउनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले पर्यटकहरूबाट हुनसक्ने सम्भावित अपराध रोकथाम तथा अनुसन्धानमा  सम्बन्धित  निकायहरूको समन्वयमा उच्च मनोवल र व्यवसायीक निष्ठाका साथ विवेकपूर्ण कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।          कार्यक्रममा पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुईटेल, पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

अवैध रुपमा लुकाई छिपाई लैजान लागेका अमेरिकी डलरसहित पक्राउ
२०८०-०२-१९

काठमाण्डौ,१९ जेठ            त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका-१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। नेपाल एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।  

पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
२०८०-०२-१९

काठमाण्डौ,१९ जेठ काठमाण्डौ महानगरपालिका-२६ गोंगबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका-५ घर भई हाल काठमाण्डौ टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-५ घर भई हाल काठमाण्डौ महानगरपालिका-२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।     काठमाण्डौ महानगरपालिका-२६ गोंगबुस्थित सार्वजनिक यातायातमा सवार एकजना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८०-०२-१९

काठमाण्डौ,१९ जेठसामाजिक सञ्‍जाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सप्‍तरी बोदेबरसाइन नगरपालिका-१४ घर भई काठमाण्डौ महानगरपालिका-२२ सुन्धारा बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्‍जाल फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमति बिना पीडितकै मोबाइल लिएर मोबाइल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ई-सेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि निज साहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीद्वारा पक्राउ गरिएको हो । निज साह उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौमा पठाइएको छ ।

सुनको सिक्री लुटपाट गर्ने एक जना पक्राउ
२०८०-०२-१७

काठमाडौं, १७ जेठ             सुनको सिक्री लुटपाट गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखले नगरपालिका-१ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौं गोकणेश्वर नगरपालिका-५ जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको छ ।

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-१७

काठमाडौं, १७ जेठ  वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी १२ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-१७

काठमाडौं, १७ जेठ वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा बैतेश्वर नगरपालिका-३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पाख्रिनले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि फ्रान्स पठाई प्रतिष्ठित कम्पनीहरुमा काम लगाइदिन्छु, मासिक १ लाख रूपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४० लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८०-०२-१४

काठमाडौं, १४ जेठकाठमाडौं महानगरपालिका-१४ कलंकी चोकमा सु.प.प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रक र बा.प्र.०२-००४ प ४७०३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार तनहुँ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तु माया राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण सम्पन्न
२०८०-०२-१४

काठमाडौं, १४ जेठ  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले सेवा प्रवाहगर्दा वोली, वचन र  व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “जिव्रोको गरिमा मिठो बोलीमा” व्यवहारमा अवलम्वन गर्न निर्देशन समेत दिनुभयो   ।           सोही क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति सम्पूर्ण निकायको ध्यान पुग्ने हुँदा वफादार रही कानून सम्मत ढंगबाट निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।

अवैध लागूऔषध सहित पक्राउ
२०८०-०२-१२

काठमाडौं, १२ जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट  अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६ सय २० ग्रामसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ स्थायी वतन भएका ४१ वर्षीय तेम्बा शेर्पालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

डाँका-चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-०२-०८

काठमाडौं, ८ जेठ भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-४ सिम्ले घर भई काठमाडौं महानगरपालिका- १६ बालाजु माछापोखरी बस्ने ३२ वर्षीय पदम बहादुर शाही र कैलाली धनगढी उमहानगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् । गत जेठ ३ गते राति काठमाडौं कोटेश्वरस्थित डान्सबारमा भारतीय पर्यटकहरूको साथबाट नगद लुटपाट तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२९ सिंहदरबार दक्षिणगेट अगाडिबाट फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ । 

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०८

काठमाडौं, ८ जेठ वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रिमाल समेतले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबई पठाई कुखुरा फर्ममा काम लगाईदिन्छु मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०२-०८

काठमाडौं, ८ जेठ बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली हरिहरगढी गाउँपालिका-३ ठेगाना भई काठमाडौं महानगरपालिका-१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<